मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आजबाट हेटौंडामा सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–६ स्थित गौरीटार बहुउदेश्यीय रंगशालामा सुरु भएको गोल्डकपमा बागमती युवा क्लब सर्लाहीले विजयी यात्र सुरु गरेको छ ।

उद्घाटन खेलमा बागमतीले पाहुना टोली पारो एफसी क्लब भुटानलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बागमतीको जितमा राज भुसालले २ तथा सृजन गौतमले एक गोल गरेका थिए । बागमतीका तर्फबाट भुसाल र गौतमले खेलको पहिलो हाफमा एक÷एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १६औं मिनेटमा गौतमले थप एक गोल गर्दै बागमतीको जित सुनिश्चित गरे । खेलको अन्तिम चरणमा भुटानका तर्फबाट सृजुब दोर्जीले शान्त्वना गोल गरेका थिए ।
प्रतियोगितामा भुटानले केही राम्रा अवसर पाएको भएपनि गोल गर्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य भएको छ । खेलको म्यान अफ द म्याच बागमतीका राज भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । आगामी माघ २७ गतेसम्म सञ्चालन हुने छैठौं संस्करणको मकवानपुर गोल्डकपमा १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भोली न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पाबिचको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
मकवानपुरका स्थानीय तहरुको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाईएको छ ।











