मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०, बागमती प्रदेश स्तरीय ज्येष्ठ नागरिक नीति, २०८० र शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै बैठकले बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयकालागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।