मकवानपुर । राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार भएको निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धका चारै जना उम्मेदवार विजयी हुनुभएको छ । सत्तागठबन्धनबाट महिलातर्फ विष्णु कुमारी पुडासैनी, अल्पसंख्यक÷अपाङ्गता तर्फ श्रीकृष्ण अधिकारी, दलित तर्फ धनश्याम रिजाल विश्वकर्मा र अन्य तर्फ जीतजंग बस्नेत निर्वाचित हुनु भएको हो ।
प्रदेशमा अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन भएकोमा अल्पसंख्यक र अपाङ्गताकोटा तर्फ नेकपा माओवादीका अधिकारी महिलाकोटातर्फ नेपाली काग्रेसकी पुडासैनी, दलितबाट नेकपा एकिकृत समाजवादीका विश्वकर्मा र अन्यबाट नेपाली काँग्रेसका बस्नेत निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।
अल्पसंख्यक÷अपाङ्गता कोटाबाट विजयी अधिकारीले ६ हजार ४३६ मतभार प्राप्त गर्नुभयो, भने उहाँका निकटतम प्रतिद्वन्दी विवेक देवकोटाले २ हजार ७३४ मतभार प्राप्त गर्नुभयो । यस्तै महिला कोटाबाट विजयी पुडासैनीले ६ हजार ६२२ मतभार प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रोचकुमारी चौलागाईले २ हजार ५५२ मतभार प्राप्त गर्नुभयो । यस्तै दलितकोटामा विजयी विश्वकर्माले ६ हजार ५१२ मतभार प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ध्रुवराज विश्वकर्माले ३ हजार ५२ मतभार प्राप्त गर्नुभयो । त्यस्तै अन्यकोटाबाट विजयी वस्नेतले ६ हजार ५३१ मतभार प्राप्त गर्दा उहाँ प्रतिद्वन्दी त्रिलोचन निर्मल पौडेलले २ हजार ३५९ मतभार प्राप्त गर्नुभएको सञ्जेलले जानकारी दिनुभयो ।
राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने ४ जना सदस्यको पद रिक्त हुदै छ । आगमी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सदस्यको पदावधी सकिने भएपछि ७ वटै प्रदेशमा विहीबार निर्वाचन भएको हो । राष्ट्रिय सभा सदस्य रहेका बागमती प्रदेश तर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ । जस अनुसार महिला, अपांगता ÷अल्पसंख्यक, दलित र अन्य समूहका १÷१ सिटका विहीबारको निर्वाचनबाट निर्वाचित हुनु भएको हो ।