मनहरी- मकवानपुरकाे मनहरी गाउँपालिका स्तरिय चाैथाे अध्यक्षकप नक आउट फुटबल प्रतियाेगिता शनिबारबाट सुरु भएकाे छ । खेलकुद विकास समिति मनहरीकाे आयाेजना एवम् गाउँपालिकाकाे प्रायाेजनमा मनहरी ७ स्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा प्रतियाेगिता सुरू भएकाे हाे ।
गाउँपालिकाका ९ वटै वडाकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे आज भएकाे उद्धाटन खेलमा ९ नम्बर वडालाई १-० गाेलअन्तरले हराउँदै ८ नम्बर वडाले विजयी सुरूवात गरेकाे छ । ८ नम्बर वडाका तर्फबाट निर्धारित समयकाे अन्त्यतिर रुपेश स्याङ्तानले गरेकाे गाेल नै निर्णायक बन्याे । खेलमा गाेलकर्ता स्याङ्तानले नै म्यान अफ दि म्याच घाेषित हुँदै नगद २ हजार रुपैयाँ प्राप्त गरे ।
पुस ५ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा विजेता टिमलाई नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएकाे छ । उपबिजेता टिमले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियाेगितामा भाेलि आइतबारकाे पहिलाे खेल ५ र ६ नम्बर वडाबीच हुनेछ भने दाेस्राे खेल १ र ७ नम्बर वडाबीच हुने आयाेजक मनहरी गाउँपालिका खेलकुद विकास समितिले जनाएकाे छ ।
खेलकुद विकास समिति मनहरीका अध्यक्षकाे अध्यक्षता एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगिताकाे उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सिता पुलामी मगर, ९ वटै वडाका वडाअध्यक्षहरूलगायतकाे आतिथ्यता थियाे ।