मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हेटौंडा आउनुहुने भएको छ । हेटौंडा–९, लामसुरेधाप स्थित “मानवसेवा आश्रम“ को मुख्य कार्यालयको नवनिर्मित भवन समुद्घाटनका लागि प्रचण्ड हेटौंडा आउन लाग्नुभएको हो ।
सहयोगापेक्षी सडकआश्रित मानवहरुको आश्रय स्थल “मानवसेवा आश्रम” को मुख्य कार्यालयको नवनिर्मित भवन उद्धाटनका लागि प्रधानमन्त्री प्रचण्ड आउनु हुने मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाश शरण महत लगायत नेपाल सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, वरिष्ठ कलाकार, समाजसेवी र आश्रमका अभिभावक, शुभेच्छुक र सहयोगीहरुको उपस्थिती रहने अध्यक्ष अधिकारीले बताउनुभयो ।
बेसहारा, अपाङ्गता भएकाहरुलाई सडकपेटीबाटै उद्दार गरेर खाना, नाना र छानाको व्यवस्था गर्दै नेपाललाई मानवीयताको देश बनाउने लक्ष्यमा समर्पित “मानवसेवा आश्रम” का देशका विभिन्न ठाउँमा भवन निर्माण भइरहेका छन् । ती भवन मध्ये मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवन समुद्घाटन हुने भएको उहाँले बताउनुभयो । २०७५ सालबाट निर्माण सुरु भएको मानव सेवा आश्रमकको भवन निर्माणमा हालसम्म करीब १३ करोड रुपैयाँ खर्च भईसकेको छ । आश्रम करीब दुई विगाहा क्षेत्रफलमा फैलिएको साथै आश्रममा हाल २१५ जनाले सेवा लिईरहनु भएको उहाँले बताउनुभयो ।
२०६९ साल भाद्र १३ गते स्थापना भई भाडाको घरबाट सञ्चालन गरेको मानव सेवा आश्रमको हाल सातै प्रदेशको १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेको छ । ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमका २४ वटा सेवा केन्द्रबाट हाल १६४२ जनाले सेवा लिईरहनु भएको उहाँले बताउनुभयो । उहाँले पछिल्लो ११ वर्षमा मानवसेवा आश्रमले ९ हजार ४८ जनाको उद्धार गर्नुका साथै ३ हजार ४१२ जनाको पारिवारीक मिलन र ७८५ जनाको सामुदायिक पनस्र्थापना गरिएको बताउनुभयो । यसै अविधिमा १ हजार १२८ जनाको आश्रममै निधन भएको समेत अधिकारीले बताउनुभयो । २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको बताउनुहुँदै उहाँले यसैवर्ष थप चितवन, बुटवल, गोर्खा र पोखराको भवन समुउद्धाटन हुने जानकारी दिनुभयो ।