हेटाैंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भएको आराेप लगाउनुभएकाे छ ।आज मङ्गलवारकाे प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले वर्तमान सरकार स्वेच्छाचारी, विकास विरोधी रहेको उल्लेख गर्नुभयो ।
उहाँले अहिले विकासका कामलाई ठप्प पारिएको र काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको दाबी गर्नुभयाे । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन्, हामी सबैलाई थाहा छ । भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । याे सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास विरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरू रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन ।’
अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताउनुभयो । उहाँले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आममाफीको पनि विरोध गर्नुभएकाे छ । कानुन नमान्ने भए अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै ओलीले प्रश्न गर्नुभयो ।