एसिया कपको सुपर फोर अन्तर्गत आज पाकिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ । खेल दिउँसो सवा तीन बजे कोलोम्बोमा शुरु हुनेछ ।
श्रीलङ्का र पाकिस्तान दुवै टोलीले समान दुई खेलमा २–२ अङ्क जोडेका छन् । भारत दुई खेलमा ४ अङ्ककासाथ शीर्षस्थानमा छ । श्रीलङ्का नेटरनरेटको कारण दोस्रो, पाकिस्तान तेस्रो र बङ्लादेश अङ्कविहीन हुँदै पुछारमा छन् । बङ्लादेश सुपर फोरबाटै बाहिरिएको छ ।
श्रीलङ्का र पाकिस्तानबीचको खेलबाट विजेता टोलीको ४ अङ्क हुनेछ । ४ अङ्क हुने टोली शीर्ष दुईमा रहँदै फाइनल खेल्नेछ । तर यदि वर्षाको कारण रद्द भएमा दुवै टोलीको समान ३ अङ्क हुनेछ । नेटरनरेटको कारण श्रीलङ्का फाइनल खेल्नेछ ।
भारत फाइनलमा प्रवेश गरिसकेकाले आजको खेल अनौपचारिक सेमिफाइनल हुने भएको छ । समूह चरणको अन्तिम खेल भोलि भारत र बङ्लादेशबीच हुनेछ । फाइनल खेल आइतवार हुनेछ ।