मकवानपुर । मकवानपुरको हेटौंडा–११, दुर्गा मन्दिर परिसर स्थित विपी बाटिकामा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको प्रतिमा अनावरण गरिएको छ । आईतबार वीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले विपी काईरालाको अर्थकदको प्रतिमा अनावरण गर्नुभएको हो ।

विपी विचार समाज मकवानपुरको आयोजनामा गरिएको कार्यक्रममा नेता कोइरालाले विपीद्धार उद्घाटन गर्नुका साथै बाटिका परिसरमा वृक्षारोपण समेत गनुर््भयो । प्रतिमा अनावरणपछि बोल्दै डा कोइरालाले विपीकै कारण कांग्रेस यहाँसम्म आइपुग्न सफल भएको बताउनुभयो । उहाँले कांग्रेसभित्र पनि विपीको सिद्धान्तलाई बिर्सने क्रम बढ्दै गएको भन्दै पार्टीलाई बलियो बनाउनको लागि विपीले देखाएको सत्मार्गमा हिँड्नुपर्ने बताउनुभयो ।
नेता कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने बताउनुभयो । कांग्रेस सबैभन्दा ठूलो दल भएकाले स्वभाविकरुपमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने समेत बताउनुभयो ।
बाटिका निर्माण, प्रवेशद्धार निर्माण र अर्थकदको प्रतिमा निर्माणका लागि बागमती प्रदेश सरकारले दुई चरणमा गरि २२ लाख रुपैयाँ प्रदान गरेको समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाले बताउनुभयो । समाजका अध्यक्ष कोइरालाको सभाध्यक्षता तथा नेता शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँसहित प्रदेश सभाका सदस्यहरु, जिल्ला सभापति बुद्ध लामा लगायत मकवानपुरका कांग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।