गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक/दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई/तीन दिन वर्षा धेरै हुने देखिँदैन । “मनसुन अबको दुई तीन दिन सक्रिय हुने देखिँदैन । यसको अर्थ वर्षा नै नहुने भन्ने होइन तर, निरन्तर र भारी वर्षाको सम्भावना छैन । शनिबार र आइतबार बढी वर्षा भयो, अब यो क्रमशः कम हुँदै जानेछ”, उहाँले भन्नुभयो ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ । अबको केही दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नै रहने हुनाले मनसुनी वर्षा कम हुने पूर्वानुमान गरिएको मौसमविद् लामिछानेले बताउनुभयो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।