हेटौंडा । नेपाल शिक्षक महासंघले आइतबार मकवानपुरको हेटौंडा उपमहानगरपालिकालगायत विभिन्न पालिकामा धर्ना दिएको छ । महासंघले प्रस्तावित विद्यालय शिक्षा ऐनको मस्यौदा माथ िविरोध जनाउँदै आइतबार तीन घण्टा विभिन्न पालिकाको कार्यलय परिसरमा धर्ना दिएका हुन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा देशका ७५३ ओटै पालिकाहरुमा प्रस्तावित शिक्षा ऐन मस्यौदा विरुद्ध सम्बन्धित पालिकाहरुमा धर्ना दिने पूर्वघोषित कार्यक्रम अन्तर्गत शिक्षक महासंघमा आवद्ध शिक्षक संगठनका प्रतिनिधिहरुले आइतबार विहान ११ बजेदेखि २ बजेसम्म मकवानपुरका सबै पालिकामा धर्ना दिनुका साथै सरकार र शिक्षक महासंघबिच भएको ५१ बुँदे र ३० बुँदे सहमतिको प्रतिलिपि पालिका प्रमुखलाई बुझाएका हुन् ।
आन्दोलन अन्तर्गत ३० गते मंगलबार पनि धर्ना कार्यक्रम रहेको शिक्षक महासंघले जनाएको छ, भने साउन ३२ गते भने प्रदेश स्तरिय महासंघका पदाधिकारी तथा प्रतिनिधी सहित सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा सहमती कार्यान्वयन गर्न माग गर्दै सहमतीको प्रतिलिपि बुझाउँने कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।
पहिलो चरणको विरोध कार्यक्रम अन्तर्गत सम्झौताका पत्र बुझाउँने तथा धर्ना दिने कार्यक्रम रहेको र सरकारले शिक्षक संगठनहरुसँग गरेको सहमती कार्यान्वयन नगरे दास्रो चरणको आन्दोलन थाल्ने उहाँले बताउनुभयो । दोस्रो चरणको कार्यक्रममा देशभरिका शिक्षक–कर्मचारी उपस्थित भई काठमाडौंमा लगातार बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।