हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विषयमा हेटौंडाका व्यवसायिहरुले सोमबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार हेटौंडाका व्यवसायी संघहरुले जिसस प्रमुख घलानलाई भेटेर संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
सडक डिभिजन कार्यालय हेटौंडाले ३५ दिने सुचना प्रकाशन गरेसँगै प्रभावित व्यवसायीहरुको ध्यानाकर्षण भएको भन्दै २५ मिटर सडक विस्तार हुँदा १ हजार ८ सय घरधुरी र ५ हजार व्यवसायि प्रभावित हुने बताएका छन् । ज्ञापनपत्र बुझाउँदै उनिहरुले पाँच हजार जना व्यवसायीहरुको अनुमानित १५ अर्ब लगानी क्षति हुनुका साथै त्यसबाट २५ हजार जना मानिस र १५ हजार जनाको रोजगारी गुम्ने अवस्था सिर्जना हुने बताए । ज्ञापनपत्रमा उनिहरुले कर्जा तिर्न नसक्ने अवस्थामा रहेका व्यवसायीहरु करिब २ हजार, बैंक तथा वित्तीय संस्थाको बजारमा अन्य लगानी करिब १५ अर्ब रहेको उल्लेख गरेका छन् ।
पत्र बुझाउँदै व्यवसायिहरुले सडकको हाल विद्यमान चौडाईलाई बढाएर विकल्प खोज्ने ÷वास्तविक लगत लिने, सडक विस्तार हुँदा व्यवसायीको उचित स्थानमा व्यवस्थापन तथा घरधनीलाई मुआब्जा दिनुपर्ने माग राखेका छन् । सो क्रममा जिसस प्रमुख घलानले व्यवसायिका विषयमा विभिन्न विकल्पका बारेमा छलफल भईरहेको बताउनुभयो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा जिसस सदस्य वीरेन्द्र कुमार लामा, सुमित्रा थिङ, तारा ढुङ्गाना लगायत सदस्यहरु, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्याल, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष नवराज चौलागाई, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष नेत्र प्रसाद खतिवडा, हेटौंडा ढुवानी एशोसिएसन अध्यक्ष प्रदीप अर्याल, ग्रील तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाई, मकवानपुर भाडाँ व्यवसायी संघका महासचिव सञ्जय प्रसाद रौनियार लगायतको उपस्थिती रहेको थियो ।