अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिला क्रिकेट लागि समान पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । बिहीवार दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले याे ऐतिहासिक घाेषणा गरेकाे हाे । याे निर्णयसँगै अब हुने आईसीसी प्रतियाेगितामा पुरुष र महिला टिमले समान पुरस्कार राशि पाउने छन् ।
आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले याे निर्णय खेलकुदकाे इतिहासमा महत्त्वपूर्ण क्षण भएकाे बताउनुभयाे । अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र १९ वर्षमुनिकाे महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उहाँले बताउनुभयाे । ‘यो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो । आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेछन्, म खुशी छु,’ उहाँले भन्नुभयाे । आईसीसीले पुरस्कार राशि समान बनाउन सन् २०१७ देखि नै हरेक वर्ष महिलातर्फकाे प्रतियाेगिताहरूमा पुरस्कार राशि बढाउँदै आएको थियो ।