मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको अध्यक्षतामा बसेको १३औं नगरसभामा उपमेयर राजेश बानीयाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
उपमहानगरपालिकाले असार १० गते भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको समीक्षा गर्दै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको हो । उपमहानगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र खेलकुदलाई प्राथमिक्ता दिँदै आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको कार्यान्वयनका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
आगामी आर्थिक वर्षमा उपमहानगरले आन्तरिक श्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजश्व बाँडफाँडबाट ५९ करोड १४ लाख १० हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ व्यहोरिने नगर उपप्रमुख राजेश बानियाँले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ । उपमहानगरले पूर्वाधार विकासतर्फ १ अर्ब रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ७६ लाख, सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७ करोड १५ लाख रुपैयाँ, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नीति, कार्यक्रम र बजेट प्रस्तुतपछि नगर सभाका सदस्यलाई अध्ययनको समय दिएर पास गरिने उपमेयर बानीयाले बताउनुभयो ।