मकवानपुर । चालु आर्थिक वर्षमा बागमती प्रदेशमा अपराधका मुद्धा दर्ता ३.१ प्रतिशतले बृद्धि भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको सञ्चारकर्मीहरुसंग परिचयात्मक तथा अन्तरकृया कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरिक्षक एवम् प्रवक्ता दीपक रेग्मीले चालु वर्षको प्रगति विवरण सार्वजानिक गर्नुहुँदै गत आव २०७८÷७९ को तुलनामा चालु आव २०७९÷०८० को जेठ २२ गतेसम्ममा अपराधका मुद्धा दर्ता ३.१ प्रतिशतले बृद्धि भएको बताउनुभयो । उहाँले बागमती प्रदेशका १० जिल्लामा कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, सवारी ज्यान, लागु औषध, जबरजस्ती करणी, जबरजस्ती करणि उधोग, आत्महत्या, ठगी, चोरी, जुवा, बहुबिबाह र अन्य शिर्षकमा गत आर्थिक बर्षमा ३९३४ मुद्धा दर्ता भएकोमा चालु आव यो अवधीमा ४०५४ मुद्धा दर्ता भएको बताउनुभयो ।
उहाँका चालु आर्थिक वर्षमा सबै भन्दा बढी जुवा र चोरी सम्बन्धी मुद्धा दर्ता भएको बताउनुभयो । गत आवमा ३० जुवासम्बन्धी मुद्धा दर्ता भएकोमा १० प्रतिशतले बढेर चालु आवमा ३३ वटा र चोरीका मुद्धा गत आवमा २३६ वटा दर्ता भएकोमा ९.७ प्रतिशतले बढेर २५९ मुद्धा दर्ता भएको बताउनुभयो ।
त्यस्तै लागु औषध मुद्धा गत आवमा ३०५ दर्ता भएकोमा चालु आवमा ५.६ प्रतिशतले बढेर ३२२ वटा, आत्महत्याका ७८९ मुद्धा दर्ता भएकोमा चालु आवको यो अवधीमा ०.६ प्रतिशत बढेर ७९४ वटा र गत आवमा ठगीका ४० मुद्धा दर्ता भएकोमा चालु आवमा ४२.५ प्रतिशतले बढेर ५७ वटा मुद्धा दर्ता भएको उहाँले बताउनुभयो । यस्तै, अन्य शिर्षकमा गत आवमा १६९६ मुद्धा दर्ता भएकोमा चालु आवमा १४ प्रतिशतले बढेर १९३४ मुद्धा दर्ता भएको समेत प्रहरी वरिष्ठ उपरिक्षक रेग्मीले बताउनुभयो ।
त्यस्तै प्रहरी वरिष्ठ उपरिक्षक रेग्मीका अनुसार बागमती प्रदेशमा चालु आवको यसै अवधिमा कर्तव्य ज्यान तर्फ गत आवमा ५५ मुद्धा दर्ता भएकोमा ३४.५ प्रतिशतले घटेर चालु आवमा ३६ मुद्धा दर्ता भएको बताउनुभयो । यस्तै ज्यान मार्ने उद्योगमा गत आवमा १०२ मुद्धा दर्ता भएकोमा ३८.२ प्रतिशतले कमी आएर ६३ वटा, सवारी ज्यान मुद्धामा गत आवमा २९७ मुद्धा दर्ता भएकोमा चालु आवमा ३० प्रतिशतले कमी आई २०८ वटा, जवरजस्ती करणी उद्योग अन्तरगत गत आर्थिक बर्षमा ६१ मुद्धा दर्ता भएकोमा चालु आवमा ३.३ प्रतिशत घटेर ५९ वटा र बहुविवाह मुद्धा गत आवमा ८५ मुद्धा दर्ता भएकोमा २३.५ प्रतिशतले घटेर चालु आवमा ६५ मुद्धा दर्ता भएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक किरण राणाले अपराध अनुसंधान गर्न र तस्करी नियन्त्रणमा कुनैपनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले आन्तरिक शुद्धीकरण देखि अपराध नियन्त्रणको अभियानमा आफु लागिपरेको बताउनुभयो । प्रदेशभित्रका फरार अपराधी पक्राउमा तीव्रता दिने, सबै किसिमको तस्करी नियन्त्रण गर्ने, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पूर्ण रुपमा निषेध गरिने, प्रहरी जनशक्ति सुदृढिकरण एंव शुन्यसहनशीलाको नीति अवलम्बन गर्ने जस्ता योजनाहरु रहेको राणाले बताउनुभयो ।