शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । २४ खेलमा ३१ अङ्क जोडेर आठौं स्थानमा रहेको हिमालयन आठौँ जितको खोजीमा रहनेछ । २४ खेलमा ३९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको मच्छिन्द्र ११ औँ जित निकाल्ने योजनामा छ ।
यस्तै च्यासल मैदानमा दिउँसो ३ बजेदेखि हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) आमनेसामने हुनेछन् । २४ खेलमा ३२ अङ्क जोडेर छैटौँ स्थानमा रहेको मनाङ आठौँ जितको योजनामा हुनेछ। २४ खेलमा ३० अङ्क जोडेर ११ औँ स्थानमा रहेको एनआरटी पनि आठौँ जितको खोजीमा हुनेछ । रङ्गशालामा साँझ ६ बजे हुने खेलमा संकटा क्लब र फ्रेण्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । २४ खेलमा ३० अङ्क जोडेर दशौँ स्थानमा ​रहेको संकटा आठौँ जित निकाल्ने योजनामा छ । २४ खेलमा २६ अङ्क जोडेर पुछारमा रहेको फ्रेण्डस् सातौँ जितको खोजीमा हुनेछ ।