file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आउँदाे वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताउनुभएको छ। 

बैंक तथा वित्तीय संस्था परिसङ्घले आयोजना गरेको शिखर सम्मेलन समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको आउँदाे वर्षको बजेटकाे सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको आरोप लगाउनु भयो ।

उहाँले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरे पनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ नागरिकलाई दिनुपर्ने बताउनु भयो । उहाँले गठबन्धन सरकारले चालु आर्थिक वर्षमा २ प्रतिशतमा झर्नुको जवाफ नागरिकलाई नदिएर गठबन्धन सरकार नागरिकप्रति जवाफदेही नबनेको आरोप लगाउनु भयो ।

उहाँले आफैँले लिएको लक्ष्य पूरा गर्न नसक्ने सरकारको आयव्ययको अनुमान विश्वासयोग्य नरहेको समेत बताउनु भयो ।