गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आज शुक्रवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराउनुभएकाे हाे ।
गुरुङले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा हिजाे बिहीवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । पाण्डे कांग्रेसका २७, माओवादीका सात र मनाङबाट स्वतन्त्ररूपमा सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
त्यसैगरी मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री बन्नुभएकाे छ । उहाँहरूलाई प्रदेश प्रमुख गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभयाे । सत्तारूढ दलहरूबीच भागबन्डा नमिलेका कारण उहाँहरूकाे मन्त्रालय तोकिएको छैन । प्रदेश सभाबाट विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।