हेटाैंडा – बागमती प्रदेशका सभामुख भुवन पाठकले मुलुकको समृद्धि र विकासमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । बागमती प्रदेशसभा सचिवालयको आयोजनामा शुक्रबारबाट चितवनको सौराहमा सुरु भएको संसदीय रिपोर्टिङ सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै सभामुख पाठकले समाजमा गलत क्रियाकलाप हुन नदिन सचेत गराउँदै विकृतयुक्त कार्यलाई निरुत्साहित गर्न पत्रकारको भूमिका हुने उहाँले बताउनुभयो ।
सभामुख पाठकले संसदको गतिविधि जनतामाझ लैजान र सांसदहरूलाई झकझक्याउन समेत पत्रकारिता जगत सशक्त हुनुपर्ने बताउनुभयो । यसको लागि प्रदेश सभाले पत्रकारसँग सदा सहकार्य गर्ने बताउनुभयो । पत्रकारले धेरै जोखिमकाबीच पनि काम गरिरहेको भन्दै पत्रकारितालाई सम्मानित पेशाको रुपमा व्याख्या गर्नुभयो । नेपालमा सञ्चार माध्यमको व्यवस्थित विकास हुँदै गएकोमा खुसी व्यक्त गर्दै सभामुख पाठकले त्यस क्षेत्रमा केही कमी कमजोरी भए सुधार्दै लैजानुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा उपसभामुख अप्सरा चापागाईं खत्रीले बागमती प्रदेश संघीय राजधानी समेत रहेको र अन्य विविधताको हिसाबले आमसञ्चारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । संसदले जनताका आवाज सम्बोधन गर्नु पर्ने र चुकेका बिषयमा खबरदारी गर्नुपर्ने भएकोले पत्रकारको भूमिका इमानदारीतापुर्वक निभाउन उहाँले आग्रह गर्नुभयो । जनताको लागि सन्चार संवाहक बनेर लागिपरेका पत्रकारलाई संसदले सधै सहयोग गर्ने उपसभामुख चापागाईंको भनाई थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले पत्रकार र प्रदेशसभाबीच सुमधुर सम्बन्ध कायम राख्न आफूहरु तत्पर रहेको बताउनुभयो । प्रदेशसभाको बैठक, समितिको बैठकलगायतमा पत्रकारको पहुँचबारे आफूहरु सचेत रहेको खड्काको भनाइ थियो । सही र छिटो सूचना सम्प्रेषण गर्ने बिधिबारे पनि पत्रकारहरूसँग छलफल गरिने उहाँले बताउनुभयो । प्रशिक्षण उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईं खत्री, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रशिक्षणमा आज संसद, संसदीय संवाददाता खोज तथा लेखनशैली, जनप्रतिनिधिसँग सम्बन्धको विषयमा पत्रकार हरिबहादुर थापाले सहजीकरण गर्नु भएको छ, भने, भोलि प्रदेशसभा र सूचना सम्बन्धी विषयमा मनोजकुमार गुप्ताले सहजीकरण गर्नु हुने छ । प्रशिक्षणमा मकवानपुर र चितवनका करिब ४० जना पत्रकारको सहभागिता रहेको छ ।











