मकवानपुर – बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी उम्मेदवार अप्सरा चापागाँई खत्री निर्वाचित हुनु भएको छ । प्रदेशसभामा सोमबार भएको चुनावमा नेकपा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्य निर्वाचित चापागाँई उपसभामुखमा निर्वाचित हुनु भएको हो ।
सत्ता गठबन्धनबाट उम्मेदवार बन्नु भएकी चापागाँईले ६१ मत प्राप्त गर्नु भएको बागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिनुभयो । उपसभामुख चयनका लागि प्रदेशसभाको बैठकमा भएको मतदानमा चापागाँईको पक्षमा ६१ मत परेको थियो, भने, विपक्षमा ३९ मत परेको थियो । मतदानमा ७ जना प्रदेश सभा सदस्य तटस्थ रहनु भएको थियो । बैठकमा उपस्थित १०८ जना सदस्यमध्ये खत्रीले प्राप्त गर्नुभएको ६१ मत बहुमत भएकोले सभामुख पाठकले उपसभामुख पदमा चापागाई निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।
उपसभामुख पदमा सत्ता गठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं, नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले मनोनयन दर्ता गराउन भएको थियो । पहिलो चरणको मतदानमा गीता काफ्लेले ३ मत प्राप्त गर्नु भएको थियो । उहाँको विपक्षमा ६१ सांसदले मतदान गर्नुभएको थियो । भने ४४ सांसद तटस्थ रहनु भयो । ११० सदस्य प्रदेश सभामा मतदानमा क्रममा १०८ जना सांसद उपस्थित हुनुहुन्थ्यो ।