देशका धेरैजसो ठाउँमा हुस्सु कुहिरो लागेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । केही दिनयता काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्दै आएको छ । यसले सडकसँगै हवाई क्षेत्रको यात्रा प्रभावित हुन थालेको छ । हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी अर्थात् दृश्य क्षमता घट्ने र यस्तो बेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।
भिजिबिलिटी कम हुँदा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरण प्रभावित भएका छन् । यस्तै, अन्य पहाडी र तराईका विमानस्थलबाट पनि उडान अवतरण हुन सकेको छैन ।यस्तै, भिजिबिलिटी कम हुँदा सडक दुर्घटनाको जोखिम पनि उच्च हुन्छ । दुर्घटना रोकथामका लागि तीव्र गतिमा गाडी नचलाउन र सडक वारपार गर्दा पनि गाडी आए नआएको राम्ररी हेर्न ट्राफिक प्रहरीको आग्रह छ । यस्तै, मोटरसाइकल तथा साइकल चलाउँदा टल्कने खालको ज्याकेट लगाउन पनि ट्राफिक प्रहरीको अनुरोध छ भने पैदल यात्रुलाई कानमा इयर फोन लगाएर नहिँड्न सुझाव दिइएको छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । यस्तै, तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो।