सरकारले चार बस्तुमा कायम राखेको आयात खुलाउने भएको छ । सम्भवतः भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट मोटर साइकल, महँगा पेट्रोलियम गाडी, मोबाइल र मदिराको आयात खुलाउन सक्ने अर्थ मन्त्रालय उच्च स्रोतले जानकारी दियो । ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माग गरेको राय अर्थमन्त्रीले स्वीकृत गरेका छन्’ ती स्रोतले भने, ‘अब वाणिज्यले भोलि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नेछ ।’
सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर वैदेशिक मुन्द्रा संचिती घट्न कम गर्न भन्दै वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा भदौ दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इन्चभन्दा माथिको टेलिभिजन, कुर्कुरे, लेज र तासको आयात प्रतिबन्ध हटाएको थियो । मदिराको हकमा भने प्रतिबन्ध लगाउने र खुलाउने खेल हुँदै आएको छ । निश्चित व्यापारी ग्रुपहरूले सरकारलाई प्रभावमा पार्दै स्टक सकिँदा खुलाउने र भरिँदा बन्द गराउँदै आएका थिए । पछिल्लो पाँच वर्षमा मात्रै करिब १५ अर्बको हाराहारीमा मदिरा आयात भएको छ ।