मकवानपुर । मकवानपुरको हेटाैंडा-२, स्थित सिदार्थ माविकाे मतगणना स्थलभित्र प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख)का उम्मेदवार इन्द्रबहादुर बानियाँकाे गाडि प्रवेश गर्न दिएपछि नारावाजी भएकाे छ । दिनभरी एकदम कडाइ गरेको यहाँ सुरक्षा निकायले दलका प्रतिनिधिलगायतलाई माेबाइलसमेत लैजान दिएकाे थिएन ।
माेबाइल लैजान नदिने प्रशासनले उम्मेदवारकाे गाडि नै भित्र लैजान दिएकाे भन्दै मतगणना स्थलकाे गेटमा चर्काे नारावाजी भएको छ । मत परिणाम सुन्न गेट बाहिर बसिरहेका दलका समर्थकहरूले प्रहरी प्रशासनविरूद्व नारावाजी गरिरहेका हुन् । नेतालाई पहुँचकाे आधारमा दिइने सुविधा र अन्यलाई दिइने सुविधामा विभेद भएकाे भन्दै उनीहरूले मत गणना नै राेक्नु पर्ने चेतावनीसमेत दिइरहेका छन् । सोमवार राति करिब ९ बजे बिना चेकिङ बानियाँको बागमती बी ए बी ११११ नम्बरको ल्यान्ड क्रुजर गाडी मतगणना स्थलमा बिना रोकावट, बिना चेक जाँच प्रसासनले प्रवेश गराएसँगै उपस्थित स्थानीय सर्वसाधारणले विरोध गरेका हुन् ।