त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई १४० रनले हराउँदै समूह आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले दिएको २५५ रनको लक्ष्य पन्छाएको कर्णाली २८.३ ओभरमा ११४ रनमा समेटियो । विपिन रावलले ४८,अर्जुन घर्तीले १७, सन्दीप शाहीले ११, दिनेश अधिकारीले ११ रन बनाए ।आर्मीका रोहितकुमार पौडेलले ३, शाहब आलम र हरि चौहानले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । कप्तान विनोद भण्डारीले नटआउट ३७, रोहित कुमार पौडेलले ३५, कुशल मल्लले ३५, राजेश पुलामी मगरले अविजित २८, हरि चौहानले ३१,भीम सार्कीले २९, अर्जुन साउँदले २०, अनिल मण्डलले १७ रन बनाए । कर्णालीका लागि प्रकाश जैसीले ३, दीपेन्द्र रावतले २, दिनेश अधिकारीले १ विकेट हात पारे । आर्मीको यो जितले गण्डकी बाहिरिएको छ । ५ अङ्क जोडेको गण्डकी तेस्रो स्थानमा छ ।
यो समूहको शीर्ष स्थानमा ७ अङ्कका साथ एपिएफ, आर्मी ६ अङ्कका साथ दोस्रो हुदैं अन्तिम चारमा सुरक्षित भएका हुन् । आर्मीले सेमिफाइनलमा पुलिससँग र एपिएफले मधेससँग खेल्नेछ ।अर्को खेलमा नेपाल पुलिस क्लब समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदानमा मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै समूह बी को शीर्ष स्थानमा रहदैं सेमिफाइनलमा प्रवेश गरेको हो । उसले समूह चरणका चारवटै खेल जितेर ८ अङ्क जोडेको छ ।
पुलिससँग हार बेहोरेको मधेश पनि ५ अङ्कका साथ दोस्रो स्थानमा रहदैं सेमिफाइनलमा पुगिसकेको छ । २७४ रनको लक्ष्य पन्छाएको मधेश २९३ ओभरमा ८२ रनमा अलआउट भयो । मोहम्मद आदिल आलमले ४२, रतन रौनकले ११, कप्तान हरिशंकर शाहले १० बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पुलिसका कुशल भुर्तेलले ५, करण केसीले ३, राशिद खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिस ४९.१ ओभरमा २७३ रनमा अलआउट भयो । आरिफ शेखले ७३, अमित श्रेष्ठले ६५, दीपेन्द्रसिंह ऐरीले ५१ रन बनाए ।
यस्तै दिलीप नाथले ४०, सुनिल धमलाले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मधेसका राजेश यादव र रुपेश सिंहले ३/३ तथा मोहम्मद आदिल आलमले २ विकेट हात पारे । यो समूहमा रहेको लुम्बिनी प्रदेशको ४ अङ्क छ । प्रदेश १ को २, बागमतीको १ अङ्क रहेको छ । लुम्बिनी, प्रदेश १ र बागमती समूह चरणबाटै बाहिरिइसकेका छन् ।