(रिपेश दाहाल)
हेटौंडा– प्रदेश ३ का प्रमुख सचिव तोयम रायले भ्रष्टाचार न्युनीकरणका लागि प्रदेश सरकारको भ्रष्टाचार विरुद्धको प्रदेश कार्ययोजनाको निर्माणकार्य प्रारम्भ भएको जानकारी दिनुभएको छ । प्रमुख सचिव रायले प्रदेश सुशासन ऐन तर्जुमाको चरणमा रहेको तथा स्थानीय तहबाट सम्पतिको विवरण लिएर राखिएको बताउनुभयो । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका तर्फबाट भ्रष्टाचार नियन्त्रणका लागि भएका र हुन गइरहेका गतिविधिका बारेमा प्रस्तुतीकरण गर्दै प्रमुख सचिव रायले खरिद प्रक्रियालाई चुस्त दुरुस्त र पारदर्शी बनाउन सरकारले सार्वजनिक खरिद नियमावली , २०७६ स्वीकृत गराईसकेको जानकारी दिनुभयो । उहाँले सरकारले सम्पादन गर्ने कार्यहरुको जानकारी आदानप्रदान गरी गुणस्तरीय सेवा प्रवाह गर्ने तथा पारदर्शिता अविबृद्धि गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा “फ्लो अप डेस्क” निर्माण भइरहेको , सोही कार्यालयमा “स्मार्ट कक्ष” र “डिजिटल डिस्प्ले ” जडान गरिएको , संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्यान्वयन चरणमा रहेको , कार्य सम्पादनका लागि आवश्यक ऐनहरुको निर्माण गरेको बताउनुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग , हेटौंडाका प्रमुख शीव कुमार कार्कीले आर्थिकवर्ष २०७६ ÷७७ को प्रथम चार महिनामा मात्र अख्तियारमा १५ हजार १ सय ६० वटा उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार उजुरी परेका मध्य ५ हजार ७ सय ४४ वटा उजुरीको फछ्र्याैट गरिएको छ भने १ सय ३८ वटा उजुरीको छानविनका क्रममा त्रुटी देखिएकाले मुद्धा दर्ता गरिएको छ ।