हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशका सहकारी संस्थालाई आगामी ४ मंसिर (निर्वाचन) सम्म कुनै पनि साधारणसभा नगर्न/नगराउन निर्देशन दिएको छ । साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधि सभा एवम् प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्देशन दिएको हो ।
‘प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन (२०७९) को सन्दर्भमा निर्वाचन आयोगबाट आचारसंहिता जारी भएको सबैमा सर्वविदितै छ। सो सन्दर्भमा आचारसंहिता लागु रहेको अवधिमा बागमती प्रदेशभित्र रहेका कतिपय सहकारी संघ/संस्थाहरुले साधारण सभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिएको भन्ने बुझिन छ । सो कार्यबाट निर्वाचन आचारसंहिता उल्लंघन हुन सक्ने अवस्था देखिएकाले ४ मंसिर २०७९ सम्म कुनै पनि साधारणसभा नगर्न, नगराउनु हुन सबै सहकारी संघ/संस्थाहरुलाई यो सूचना जारी गरिएको छ’ सूचनामा भनिएको छ ।