मकवानपुर। आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुरमा समानुपातिक तर्फको मतपत्र आइपुगेको छ । प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रमाणीतर्फको मतपत्र आइतबार आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुरमा समानुपातिक निर्वाचनतर्फ जिल्लाको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ १ लाख ६८ हजार मतपत्रको ठेली आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । यस्तै, क्षेत्र नम्बर २ तर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तरगत प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ १ लाख ६९ हजार मतपत्र ल्याइएको २ नम्बर क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मकवानपुरमा ३ लाख ७३७ मतदाता रहेका छन् । जिल्लामा क्षेत्र नम्बर १ र २ मा गरी जम्मा ३ सय ६४ वटा मतदान केन्द्रहरु तोकिएको प्रदेश निर्वाचन कार्यालय बागमतीले जनाएको छ ।