प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ । देउवाको नागरिकतामा उल्लेख भएको जन्ममिति र मतदाता नामावलीमा भएको जन्ममिति फरक परेको भन्दै कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उम्मेदवारी खारेजीको माग गरेर हिजो साेमवार उजुरी दिनुभएको थियो ।
तर आज मङ्गलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीलाई खारेज गरेर देउवाको उम्मेदवारी कायम गरिदिएको छ । कार्यालयले देउवाको जन्ममिति नागरिकतामा उल्लेख भएअनुसार नै २००३ जेठ ३१ गते रहेको भन्दै मतदाता नामावलीमा गलत प्रिन्ट भएका कारण २००२ जेठ ३१ गते उल्लेख हुन पुगेको दाबी गरेको छ । देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । ‘उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवारविरुद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन ।’