परराष्ट्र मन्त्रालयले दशैँभन्दा अगाडि नै चीनसँगका व्यापारिक नाकाहरू पूर्णरुपमा सञ्चालनमा आउने बताएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कोभिड र प्राकृतिक विपत्तिका कारण बन्द अवस्थामा रहेका मित्रराष्ट्र चीनसँगको सीमा नाकाहरू अहिले नै आंशिक रुपमा सञ्चालनमा आइसकेका र दशैँ अगावै पूर्णरुपमा सञ्चालनमा आउनेमा आफूहरू आसावादी रहेको बताउनुभयो ।
प्रवक्ता लम्सालले चिनियाँ जनकाँग्रेसका अध्यक्ष लि चान्शुको सम्पन्न नेपाल भ्रमणले नेपाल चीन बीचको सम्बन्ध थप सुमधुर बनाउन सफल भएको बताउनुभयो । परराष्ट्र मन्त्रालयले ७७ महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको तयारी भइरहेको जनाएको छ । यस्तै हालै पाकिस्तानमा गएको बाढी र डुबानबाट प्रभावित पाकिस्तानी जनताका लागि नेपाल सरकारको तर्फबाट २२ टनभन्दा बढी राहत सामग्री पुर्‍याइएको प्रवक्ता लम्सालले बताउनुभयो । नेपाल वायुसेवा निगमको चार्टड विमानबाट आफूसहितको नेपाली टोली पाकिस्तान मै पुगेर ती सामग्रीहरु पाकिस्तानी सरकारलाई हस्तान्तरण गरेको जानकारी दिनुहुँदै उहाँले यसअघि नेपालले अफगानिस्तानमा पहिलो पटक यस्तै किसिमले राहत सहयोग पुर्‍याएको बताउनुभयो । सञ्चारकर्मीको भारतको सैन्य भर्ती योजना अग्निपथ बारेको जिज्ञासामा परराष्ट्र प्रवक्ता लम्सालले वर्तमान सरकारले कुनै निर्णय नगर्ने जानकारी दिनुहुँदै सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताउनुभयो । अग्निपथको बारेमा नयाँ निर्वाचित सरकारले नै आवश्यक निर्णय गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।