शपथ सम्बन्धी विधेयक २०७९ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक सभा समक्ष पेश गर्नुभएको थियो । बैठकले प्रतिनिधिसभाबाट संशोधनसहित प्राप्त ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईद्वारा प्रस्तुत नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति गरेको छ । यसैगरी बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६ र राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावल थापा पार्वतीले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन २०७९ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।