प्रतिपक्षी दल एमालेले खाद्यान्न लगायत आधारभूत सामग्रीको नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ । इन्धनको मूल्यवृद्धिसँगै खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपनि उपभोक्तालाई सहुलियत दिन सरकारले ध्यान नदिएको एमालेको आरोप छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले मूल्यवृद्धिबारे आफूहरुले उठाएको बिषयलाई सरकारले चासो नदिएको बताउनुभयो । उहाँले तरकारीमा भएको मूल्यवृद्धिको सन्दर्भमा राखेको धारणालाई बिषयान्तर गर्न खोजिएको गुनासो गर्नुभयो । सांसद ज्ञवालीले बजार अनुगमनलाई प्रभावकारी बनाउन र मूल्य नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो । यसैबीच, एमालेले महंगी विरुद्ध जनप्रदर्शन गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनसंगठनका अध्यक्ष तथा प्रचार बिभाग प्रमुखको भेलामा जनप्रदर्शनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । एमालेले महंगी र सरकारी बेथितीको विरोधमा साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो ।