२० वर्षपछि अमेरिकी डलर र युरोको भाउ बराबरी भएको छ । रुसले युरोपमा इन्धन निर्यातमा कडाइ गरेको असर स्वरूप युरो कमजोर बनेपछि २० वर्षमा पहिलो पटक डलरसँग भाउ बराबरी भएको रोयटर्सले जनाएको छ ।
सन् २००२ पछि आज पहिलो पटक एक अमेरिकी डलर बराबर एक युरो कायम भएको खबरमा उल्लेख छ । अमेरिकी डलरभन्दा युरोको भाउ जहिले पनि बढी नै हुँदै आएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि युरोप र अमेरिकाले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । प्रतिबन्धको बदलामा रुसले पनि इन्धन निर्यातमा कटौती गर्दा युरोपमा महँगी बढेको छ भने युरोको भाउ कमजोर हुँदै गइरहेको छ ।
युरोको भाउ कमजोर हुँदा युरोपेली शेयर बजार पनि घटेको छ । आर्थिक विश्लेषक नील विल्सनले इन्धन कटौतीका कारण युरोपका लागि आउँदा दिन झनै चुनौतीपूर्ण रहेको बताउँदै यसको असर विश्वका धेरै ठाउँमा देखिने चेतावनी दिनुभएको छ ।