मकवानपुर – जन नेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आईतबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजना तथा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष राघु खुलालको सभाध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रिय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि पाैडेलले अध्यक्ष खुलाललाइ ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम उदघाटन गर्नु भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि पौडेलले जननेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उहाँको व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर र प्रवद्र्धन गर्दै आएको बताउनुभयो ।

फाउण्डेशनले जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर साताव्यापी रुपमा मनाउँदै छ । जस अन्तरगत पहिलो दिन आज रक्तदान कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष खुलालले बताउनुभयो । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले भोली असार १३ गते मकवानपुर बहुमुखी क्याम्पसमा “मैले चिनेको मदन भण्डारी” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता र १४ गते हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको प्रतिमामा माल्यापर्ण र हेटौंडा–९, स्थित दिव्य वाल उद्यानमा बृक्षारोपण कार्यक्रम आयोजना गर्ने अध्यक्ष खुलालले बताउनुभयो यस्तै जन्मजयन्तीका अवसरमा अवसरमा फाउण्डेशनले “मैले चिनेको मदन भण्डारी” शीर्षकमा श्रब्यदृष्य समेत तयार गर्ने जनाइएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो भने निधन २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भएको थियो । पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा भएको उक्त जीप दुर्घटनामा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो । कार्यक्रममा फाउणडेशनका प्रदेश सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री जुनेलीमाया श्रेष्ठ, हेटाैंडा–४ का वडा अध्यक्ष नविन सिग्देल,५ का वडा अध्यक्ष सुशिल घिमिरे, १० का अध्यक्ष फुर्वा लामा, १५ का सुनिल माेक्तानलगायत फाउणडेशनका सदस्यहरूकाे उपस्थिती थियाे ।