मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी वडा अध्यक्ष नेकपा एमालेले जितेको छ । उपमहानगरपालिकाका १९ मध्ये ९ वटा वडामा नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा १२ वटा वडा जितेको नेकपा एमालेले यसपटक पनि ९ वटा वडा जितेको हो ।

हेटौँडाको वडा नम्बर ४ मा नेकपा एमालेका नवीन सिग्देल विजयी भएका छन् । सिग्देल पहिला पनि वडाध्यक्ष थिए । गठबन्धनका हरि पौडेल सिग्देलसँग पराजित भएका हुन् । वडा नम्बर ५ मा नेकपा एमालेका सुशील घिमिरे निर्वाचित भएका छन् । घिमिरेले नेपाली कांग्रेसका ह्यग्रिव आचार्यलाई पराजित गरे । वडा नम्बर १० मा नेकपा एमाले फुर्वा दोर्जे लामा विजयी भएका छन् । लामाले कांग्रेसका रमेशध्वज कार्कीलाई पराजित गरेका हुन् । वडा नम्बर ११ मा एमालेकी जुना दाहाल विजयी भएकी छन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरिन् । वडा नम्बर १३ मा नेकपा एमालेकै पेम्बा लामा विजयी भए । वडा नम्बर १४ नेकपा एमालेका दीपक खड्का विजयी भएका छन् । उनी पहिला नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष थिए भने पछि नेकपा एमाले प्रवेश गरेका हुन् । वडा नम्बर १५ मा नेकपा एमालेका सुनील मोक्तान विजयी भएका छन् । वडा नम्बर १८ मा नेकपा एमालेका अनिल बानियाँ विजयी भएका छन् । बानियाँ यसअघि पनि वडाध्यक्ष नै हुनुहुन्थ्यो । उनले नेपाली कांग्रेसका रामबाबु बानियाँलाई हराएका हुन् । वडा नम्बर १९ मा नेकपा एमालेका नरनाथ सुवेदी विजयी भए। सुवेदी यसअघि पनि वडाध्यक्ष नै थिए ।











