स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय २८ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ सय ५४ वटा नगरपालिका र ३ सय ७४ वटा गाउँपालिका गरी ५ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।
कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेस २ सय ३९ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८० नगरपालिकाको मेयर र एक सय ५९ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।
यस्तै कांग्रेसले ६० वटा नगरपालिकाको उपमेयर र एक सय ६३ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय २३ पालिका जितेको हो । कांग्रेसले २ हजार १ सय ७५ वटा वडाध्यक्ष पद जितेको छ ।
एमाले
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १ सय १ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ४७ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, सय वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १ सय ५७ वटा जितेको छ । एमालेले एक हजार ६ सय ९३ वटा वडाध्यक्ष जितेको छ ।
माओवादी
नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९ सय ८ वटा वडाध्यक्ष पद जितेको छ ।
नेकपा ( एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष तथा पाँच वटा नगरपालिकाको उपमेयर जितेको छ । नेकपा एकीकृत समाजवादीले उपमेयर र उपाध्यक्ष गरी १५ वटा पालिकामा जितेको छ ।
जसपा
जसपाले १२ वटा पालिकामा अध्यक्ष र १० वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । जसपाले १ सय ८७ वटा वडाअध्यक्ष जितेको छ ।
अन्य दल/स्वतन्त्र
अरु दल र स्वतन्त्रले गरी २१ वटा पालिका जितेका छन् । त्यस्तै १५ वटामा उपमेयर/उपाध्यक्ष जितेका छन् ।