दक्षिण बङ्गालको खाडीमा विकसित भएको ‘असानी’ नामक चक्रवात कमजोर बनेसँगै नेपालमा त्यसको असर कम पर्ने भएको छ । भारतको आन्द्र प्रदेशको तटीय क्षेत्र आसपासमा रहेको चक्रवात आज त्यही ठाउँमा नै कमजोर अवस्थामा रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यसले गर्दा यो प्रणालीको असर यसअघि पूर्वानुमान गरिएको भन्दा कम पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसको असर नेपालमा आंशिक मात्रै पर्ने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यसबारे विशेष बुलेटिन नै निकालेर जानकारी गराएको छ । भोलि मतदानको दिन प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बद्ली भइ अन्य प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने छ । यस्तै, प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । त्यसैगरी भोलि अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज पनि बेलुकीपख प्रि-मनसुनका गतिविधिका कारण पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो।