हेटौँडा – मकवानपुरका गठबन्धन दलहरुले सोमबार साँझ ५ बजे बैठक बसेर स्थानीय तहको भागवण्डा टुंग्याउने तयारी गरेका छन् । जिल्लाको कुन् स्थानीय तह कसले पाउने भनेर गठबन्धन दलहरुले टुङ्गो लगाउने भएका हुन् । सत्तारुढ गठबन्धनका दलहरुको ८ वटा बैठकले सहमतिको विन्दु खोजेको र अबको बैठक डाकिएको बताइएको छ ।
आइतबार दिउँसो कार्यदलको बैठक बस्नु पर्ने सूची भए पनि नेकपा माओवादी केन्द्रको मकवानपुर र चितवन कमाण्डको छलफल भएकाले बैठक सोमबार सरेको नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले बताउनु भयो । ‘माओवादीको आन्तरिक छलफलका कारण बैठक नबसेको हो,’ पोखरेलले भन्नु भयो, ‘सोमबारका बैठकले सबै विषयमा लगभग सहमति गर्ने छ र सहमति नबने प्रदेश र केन्द्रमा लेखेर पठाउने विषयमा सहमति हुनेछ ।’
हेटौँडा केन्द्रको जिम्मा
मकवानपुरका गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच अहिलेका ६ स्थानीय तहमा सोही पार्टीलाई नै दिने विषयमा सहमति भएको छ । जस्तो नेपाली कांग्रेसले वकैया र राक्सिराङ गाउँपालिका, नेकपा माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिका, नेकपा (एकीकृत समाजवादी)ले कैलाश र ईन्द्रसरोवर गाउँपालिका लिने विषयमा तीनै दल सहमत छन् । यसपछिको बाँकी ४ स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकासहित देशभरका ११ उपमहानगरपालिका केन्द्रीय कार्यदलले जसलाई दिए पनि मान्य हुने गठबन्धनमा सहमति बनेको छ । हेटौँडामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी छ । यसपछिको मनहरी, भीमफेदी र मकवानपुर गढी गाउँपालिका तीन दलले एक–एक वटा लिन तयार छन् । त्यहाँ पनि मनहरीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी कायमै छ । नेकपा (एकीकृत समाजवादी)ले हेटौँडा लिए मनहरी आफूहरुले पाउनु पर्ने कांग्रेसको दाबी छ । माओवादीको मनहरीमा अध्यक्षसहित अन्यमा उपप्रमुख पाउनु पर्ने दाबी छ ।
राक्सिराङमा समाजवादी एक्लै चुनावमा होमिन तयार
यसैबीच पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा सम्मानजनक स्थान नपाए एक्लै भए पनि उम्मेदवारी दिने निर्णय गरेको छ । आइतबार बसेको गाउँ कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार बसेको बैठकले गठबन्धनमा अध्यक्ष, उपाध्यक्षमा दाबी गर्ने र अध्यक्ष, उपाध्यक्ष नपाएको खण्डमा कुनै पनि हालतमा चार वटा वडा लिने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र तामाङले बताउनु भयो । अध्यक्ष वा उपाध्यक्ष नपाइएको खण्डमा समाजवादीले राक्सिराङमा वडा नम्बर ३, ४, ६ र ९ लिने निर्णय गरेको छ । यस्तै, उपाध्यक्ष पाइएको खण्डमा २ वटा वडा लिने निर्णय पनि भएको छ । बैठकले गठबन्धनले सम्मानजनक पद बाँडफाँड नगरे एक्लै चुनावमा जान पनि अध्यक्ष, उपाध्यक्षसहित ९ वडामै उम्मेदवार टुंगो लगाएको छ । तत्कालीन राक्सिराङ गाउँ विकास समितिका अध्यक्ष कृष्णबहादुर चेपाङ फेरि समाजवादीबाट अध्यक्षका उम्मेदवार सिफारिस हुनु भएको छ । उहाँ समाजवादीको जिल्ला सचिवालय सदस्य र राक्सिराङ इञ्चार्ज हुनुहुन्छ ।
यस्तै, गठबन्धन भएमा उपाध्यक्षमा पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङको नाम सिफारिस भएको छ भने एक्लै लड्नु परेमा अध्यक्ष चेपाङका सारथीका रुपमा मिलनकुमारी लामालाई उपाध्यक्ष बनाइने भएको छ । पार्टीले वडा नम्बर १ मा बाबुराम मोक्तान, वडा नम्बर २ मा नविन्द्र थिङ, वडा नम्बर ३ मा ज्ञानबहादुर स्याङ्तान, वडा नम्बर ४ मा किशोरकुमार ब्लोन, वडा नम्बर ५ मा जुनियल प्रजा, वडा नम्बर ६ मा कृष्णलाल तामाङ, वडा नम्बर ७ मा जंगमान प्रजा, वडा नम्बर ८ मा सरोजकुमार प्रजा र वडा नम्बर ९ मा अम्मरबहादुर थिङलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
समाजवादीको बैठक, हेटौँडा र मनहरीमा दाबी कायमै
यता नेकपा (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला कमिटी बैठक सोमबार बिहान बस्ने भएको छ । मकवानपुरको १० स्थानीय तहका २० पद, १ सय २ वडा वडाध्यक्ष, सदस्यहरु, जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, अन्य ११ सदस्य पदमा समाजवादीको माग, उम्मेदवार र गठबन्धनमा बनेको सहमतिबारे जिल्ला कमिटी बैठकमा छलफल हुने छ ।
बिहान ११ बजे बस्ने बैठकमा १० स्थानीयमा समाजवादीले माग राखेका पदहरु, वडाध्यक्षका उम्मेदवारहरु र कार्यपालिका तथा जिल्ला समन्वय समितिमा माग गरिने पदहरुबारे पनि छलफल हुने बताइएको छ । १० स्थानीय तह इञ्चार्जहरुले रिपोर्टिङ गरेपछि गठबन्धनमा भएको छलफल र सहमतिको आधारहरु खोजिने छ । गठबन्धनको बैठकमा समाजवादीलाई कैलाश र ईन्द्रसरोवर गाउँपालिका दिन अन्य चार दल सहमत छन् । हेटौँडा उपमहानगरपालिकामा उपप्रमुख र मनहरी गाउँपालिकामा उपाध्यक्ष पनि समाजवादीबाटै छन् । अहिलेको गठबन्धनमा मकवानपुरका २० पदमध्ये समाजवादीले ३ वटा प्रमुख र ४ वटा उपप्रमुख मागेको छ । कैलाश र इन्द्रसरोवरमा प्रमुख पाएसँगै हेटौँडा र मनहरीमा पनि प्रमुखको दाबी छ । यस्तै, चार उपप्रमुखमा पनि समाजवादीको दाबी छ । राक्सिराङ, वकैया, गढी र भीमफेदीमा उपप्रमुखमा समाजवादीको दाबी छ । सोमबारको बैठकमा पार्टीले निर्वाचन परिचालनलाई व्यवस्थित बनाउने, उम्मेदवारहरुबारे टुंगो लगाउने र गठबन्धनलाई इमानदारितापूर्वक अगाडि लैजाने विषयमा छलफल हुने बताइएको छ ।