हेटौंडा – नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा ९ जना र उपमेयरमा ७ जना आकांक्षी देखिएका छन् । आइतबार भएको उपमहानगर कमिटीको बैठकमा आंकाक्षीहरुको नाम संकलन गर्दा मेयरमा ९ जना र उपमेयरम ७ जना पुगेको हो । केन्द्रिय र प्रदेशस्तरका नेताहरुले सर्वसम्मत उम्मेदवार चयन गर्न प्रयास गरे पनि सफल हुन सकेन ।
हेटौंडाको मेयरमा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, संविधान सभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, , बहालवाला मेयर हरिबहादुर महत, नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला नेताहरु मदन दाहाल, धुब्र चौलागाई, विके महर्जन र गणेशकुमारी प्रधानले आकांक्षा राख्नु भएको छ । यस्तै उपमेयर पदमा अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, जिल्ला सदस्यहरु मेनुका दाहाल, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालले आकांक्षा राख्नुभएको छ ।
बागमती प्रदेशको एक मात्र उपमहानगर हेटौंडामा २०७४ को स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीको गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका उमेदवार बिजयी भएका थिए । आइतबारको बैठकमा आकांक्षीहरुको नाम संकलन गरिएको र सर्वसम्मत् उम्मेदवार छनोटका लागि उपमहानगरकमिटी लागिपरेको र त्यसको गृहकार्य अझै भइरहेको उपमहानगरकमिटीका सचिब बोलबहादुर कार्कीले बताउनुभयो । उमेदवार छनौटका लागि एमाले उपमहानगरपालिका कमिटीको बैठक चैत २९ गते दिउसो बस्ने उहँँले जानकारी दिनुभयो ।