मकवानपुर – नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले आसन्न निर्वाचनमा सहमतीका साथ निर्विरोध उम्मेदवार चयन गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको आयोजनामा शुक्रबार हेटौंडा उपमहानगरपालिका स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले एमालेलाई पहिलो पार्टी बनाउने गरि सहमतिका आधारमा अगाडी बढ्न निर्देशन गर्नुभयो ।

“आसन्न निर्वाचनका लागि पालिका र वडामा उम्मेदवार प्रस्ताव गर्दा सकेसम्म सहमती गर्दै पार्टीभित्र निर्विरोध रुपमा उम्मेदवार चयन गर्नुपर्छ ।” नेता खुलालले भन्नुभयो । उहाँले हामी बिचमा आपसी मनमुटाव हुन नदिइ वडा कमिटीको निर्णयलाई स्विकार गर्दै व्यक्ती भन्दा पनि पार्टीलाई जिताउने गरि सबैले सघाउनुपर्ने धारणा राख्नुभयो । उहाँले पाँच दलिय गठबन्धनसंग विकास अवधारणा नै नभएको भन्दै एमाले सरकारले गरेका कामहरुका बारेमा जनतालाई सूसूचित गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । एमाले सरकारका पालामा भएका कामहरु लिएर जनता माझ जानुपर्ने उहाँको भनाई थियो ।