नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । त्रिवि क्रिकेट मैदानमा आज बिहीवार भएकाे खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेकाे छ ।
नेपालले दिएकाे दुई सय चार रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयाे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायाे ।
यस्तै आजकाे खेलमा करण केसीले कीर्तिमान बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलाे नेपाली खेलाडी बनेका छन् । २० औँ ओभरमा बलिङ गर्न आएका करणले ओभरकाे दाेस्राे, तेस्राे र चाैथाै बलमा लगातार विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन् ।
लगातार तेस्राे जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेकाे हाे । नेपालले यसअघि पहिलाे खेलमा पीएनजीलाई नै र दाेस्राे खेलमा मलेसियालाई हराएकाे थियाे । अब नेपालले पर्सि शनिवार मलेसियासँग खेल्नेछ । फाइनल खेल भने आउँदाे साेमवार हुनेछ ।