मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाका लागि स्वीकृती प्रदान गर्न सिफारिस गरेको छ । जिससले मंगलबार गाउँपालिकाको अन्तिम अनुगमन एवम् छलफल र अन्तरकृया पश्चात बुधबार प्रतिवेदनसहित प्रदेश सरकारलाई अनुमति प्रदान गर्न सिफारिस गरेको हो ।
गाउँपालिकाको बालमैत्री स्थानीय शासन घोषणा सम्बन्धमा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार गाउँपालिकाको स्थलगत अनुगमन साथै छलफल र अन्तरकृयासमेत गरेर प्रतिवेदनसहित बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई घोषणा स्वीकृतीका लागि सिफारिस गरिएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका बमोजिम ५१ ओटा सूचकहरु पुरा भएको पाईएको उहाँले बताउनुभयो ।
जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको नेतृत्वमा ६ सदस्यीय टोलीले चैत्र १ देखि ७ गते सम्म गाउँपालिकाको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाको ५१ ओटै सूचकहरुको अनुगमन गरेर प्रतिवेदन तयार गरेको थियो । जिससले बुधबार प्रतिवेदनसहित सिफरिस गरे अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रदेश सामाजिक मन्त्रालयलाई पत्राचार गरेपछि सामाजिक विकास मन्त्रालयले घोषणाका लागि स्वीकृति दिने छ । गाउँपालिकाले यहि चैत्र १२ गते गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाको तयारी गरेको छ ।