काठमाण्डाै – पाकिस्तान र अस्ट्रेलियाबीचकाे पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । रावलपिन्डीमा अस्ट्रेलियाले दोस्रो पारीको ब्याटिङ नै गर्न नपाइ पाँचौँ दिनको खेल सकिएपछि टेस्ट बराबरीमा सकिएको हो ।
पहिलो पारीमा १७ रनको अग्रता बनाएको पाकिस्तानले दास्रो पारीमा कुनै पनि विकेट नगुमाइ दुई सय ५२ रन बनायो । पाकिस्तानका अब्दुल्लाह सफिक र इमाम उल हकले शतक प्रहार गरे । उल हकले पहिलो पारीमा पनि शतक प्रहार गरेका थिए । यस्तै पहिलो पारीमा अजहर अलीले पनि शतक प्रहार गरेका थिए । एउटै टेस्टमा पाकिस्तानका तीन जना खेलाडीले चार वटा शतक बनाउन सफल भए ।
पाकिस्तानले पहिलो पारीमा चार सय ७६ रन बनाएको थियो भने अस्ट्रेलियाले चार सय ५९ रन बनायो । पहिलो पारीमा बलिङतर्फ पाकिस्तानका नुमान अलीले ६ विकेट लिए । अस्ट्रेलियाका चार जना खेलाडीले अर्धशतक प्रहार गरे । डेभिड वार्नर, मार्नुस लाबुशेन, उसमान ख्वाजा र स्टेभिन स्मिथले अर्धशतक बनाएका हुन् । अस्ट्रेलियाकाे टोली झन्डै २५ वर्षपछि पाकिस्तान भ्रमणमा रहेको छ । यी दुई देशबीच तीन खेलको टेस्ट, तीन खेलको एकदिवसीय र एक खेलको टी–२० शृङ्खला हुँदैछ ।