काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एमसीसी देशको हितमा हुँदाहुँदै पनि भ्रम फैलाउने काम भइरहेको बताउनुभएको छ । अमेरिकी सहायता एमसीसी सम्झौतामाथिको आज आइतवारकाे संसद् बैठककाे छलफलमा बोल्दै रिजालले सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले सडकमा कार्यकर्ता उतार्ने र संसदमा पनि केही सांसदले पक्ष र केहीले विरोधमा बोलेर रमिता देखाएको आरोप पनि लगाउनुभयो ।
एमसीसीबारे भ्रम फैलाउने काम नेताहरूबाटै भएको उहाँको आरोप छ । ‘एमसीसी सम्झौता नेपालमा मात्र लागू हुने जसरी बहस भइरहेको छ, जुन गलत छ, दुनियाँका थुप्रै देशमा एमसीसी लागू भएर अनुदान उपलब्ध भइरहेको अवस्थामा नेपालमा गलत बहस भइरहेको छ । नेपालमा हामीले चाहेको विकासको लागि बर्सेनि १० खर्ब रुपैयाँ विकास बजेट चाहिन्छ भन्ने तर अनुदानका रूपमा लिने रकममा यसरी बखेडा झिक्ने दोहोरो भनाइले गर्दा देशलाई हित गर्दैन’, रिजालले भन्नुभयो ।