मकवानपुर – बागमती प्रदेश सरकारले तामाङ समुदायको विशेष पर्व ल्होसार र चेपाङ समुदायको मुख्य पर्व न्वागीका अवसरमा सार्वजनिक विदा दिने भएको छ । सोमबार साँझा बसेको मन्त्रिपरिषद्को वैठकले ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को वैठकले प्रदेशका तीन स्थानमा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिनुभयो । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको उहाँले बताउनुभयो । यस्तै मन्त्रिपरिषद्को वैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने वहुवर्षे ठेक्काको मापदण्ड तय गर्ने, प्रदेश किताब खाना सञ्चालनमा ल्याउने, सामुदायिक विद्यालयमा अध्ययन गरेका सवै छात्रालाई स्नातकोत्तरको शिक्षा निःशुल्क गर्ने निर्णय गर्नुका साथै विभिन्न नीतिगत निर्णय समेत गरेको उहाँले बताउनुभयो ।