file photo

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक दस्ताबेज सर्वसम्मतिले पारित भएको छ । काठमाडौँको प्रज्ञा भवन कमलादीमा आठौँ राष्ट्रिय महाधिवेशनमा सोमबार पेस भएको वैचारिक एवम् राजनीतिक दस्ताबेजमा उठेका प्रश्नहरूमाथि प्रचण्डको जवाफ सकिएपछि आज पारित भएको हो ।
सो राजनीतिक दस्ताबेजमा विभिन्न २५ समूहले राखेको समूहगत सुझाव प्रस्तुत गरेको थियो । अध्यक्ष प्रचण्डले ती सबै सुझावहरूलाई समेट्दै प्रतिवेदनमा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार रहेको पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले सानो समूहबाट सुरु गरेर जनयुद्ध, शान्ति प्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर अहिलेको अवस्थामा पुर्‍याएको चर्चा गर्दै आफूले अन्तिम अवसर गुम्न नदिने बताउनुभयो । उहाँले नेता द्वय राम कार्की र लेखनाथ न्यौपानेको फरक मतलाई फरक मतकै रुपमा सुरक्षित राख्ने पनि बताउनुभयो ।
आइतबारबाट सुरु महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक एवम् राजनीतिक प्रतिवेदन र नेता देव प्रसाद गुरुङले विधान संशोधन मस्यौदा पेस गर्नुभएको थियो । सो प्रतिवेदनमाथि मङ्गलवार छलफल गरी बुधवार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गर्नुभएको थियो । यसअघि आजै लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन समेत पारित भएको थियो ।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदनहरू पारित भएसँगै भोलि ११ बजेपछि विधान संशोधन मस्यौदामाथि बन्दसत्रमा उठेका प्रश्नको नेता देव प्रसाद गुरुङले जबाफ दिनुहुनेछ । नेता गुरुङको प्रतिवेदन पारित भए लगत्तै केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्र प्रचार विभागका सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो । बन्दसत्रमा केन्द्रीय सदस्यको नामसहितको प्यानल घोषणा गर्ने तयारी गरिएका छ । सो नाममा कसैले दाबी विरोध गरेमा वा सर्वसम्मत हुन नसेकेमा मात्र निर्वाचन हुनेछ । माओवादी केन्द्रको विधान अनुसार महाधिवेशन हलले केन्द्रीय सदस्यहरु मात्रै चयन गर्ने व्यवस्था गरेको छ । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २ सय ९९ कार्यसमिति चयन गर्नेछ । प्रतिनिधिहरूले केन्द्रीय सदस्य टुङ्गो लगाए पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समितिको चयन केन्द्रीय समितिले गर्नेछ ।