काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले प्रदेश पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले प्रदेश पदाधिकारीको सङ्ख्या ७ रहेकोमा थप गरेर ९ पुर्‍याउने निर्णय गरेको हो ।
यसैगरी बैठकले प्रदेश मितिको सङ्ख्या पनि बढाएको छ । बैठकले पार्टी प्रवेश गर्नेहरूका विषयमा अध्ययन गर्न नेता देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको कार्यदल गठन गर्नुका साथै महिला विभाग थप गरी सो विभागको संयोजकमा पम्फा भुसाललाई तोकेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकले केन्द्रीय सदस्यलाई आफ्नो इच्छाबाहेक प्रदेशमा नपठाउने निर्णय गरेको छ । यसअघिकै स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनका लागि समसामयिक प्रस्ताव तयार पार्न नेता गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र गणेश शाहको तीन सदस्यीय समिति गठन गरिसकेको छ ।
यसैगरी नेता हितमान शाक्य संयोजक रहेको सम्मेलन व्यवस्थापन समिति र प्रवक्ता कृष्णबहादुर महरा संयोजक रहेको प्रचार–प्रसार उपसमिति गठन भइसकेको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरी २०७८ मङ्सिर मसान्तभित्र नवीकरण भएका सदस्यता नम्बरसहित प्रतिनिधिहरूको नामावली पठाइसक्न परिपत्र गरेको छ । मङ्सिर २५ र २६ गते हुने प्रदेश सम्मेलनका लागि आजसम्म प्रतिनिधिहरूको नामावली प्रदेश निर्वाचन समितिमा पठाउन परिपत्र गरेको माओवादी केन्द्रले यसअघि नै वडा र स्थानीय तहको सम्मेलन सम्पन्न गरिसकेको छ ।