काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागमती प्रदेश समितिका उम्मेदवारहरू टुंगो लगाउन संस्थापनइतर पक्षको बैठक सुरू भएको छ । चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा सुरु भएको बैठकमा संस्थापनइतर पक्षका बागमती प्रदेशका नेताहरू उपस्थित छन् । बैठकमा नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापालगायत उपस्थित छन् ।
‘आज मुख्यतः बागमती प्रदेशको उम्मेदवारबारे छलफल गर्न लागेका हौं । हाम्रोतिरका आकांक्षीहरू मिलाउनुपर्नेछ’, बैठकमा सहभागी एक नेताले भने । संस्थापनइतर पक्षबाट राजुराज जोशी, जगदीश्वरनरसिंह केसी र रमेश धमलाले बागमती प्रदेश सभापतिमा आकांक्षा राखेका छन् । आजको बैठकमा उम्मेदवारहरूको व्यवस्थापन र साझा प्यानल निर्माणबारे छलफल हुने बताइएको छ । कांग्रेसले बागमती प्रदेशको अधिवेशन संयोजन गर्ने जिम्मेवारी नेता सिंहलाई दिएको छ । अधिवेशन व्यवस्थापनबारे पनि आज छलफल हुने बताइएको छ ।