काठमाडौँ । नेकपा एमालेले आफूबाट विभाजित भएर माधव नेपालको नेतृत्वमा गठित नेकपा एसलाई आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनमा आमन्त्रण नगर्ने भएको छ । नेकपा एमाले केन्द्रिय प्रचार विभागद्वारा आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई निमन्त्रणा गरिए पनि अवैध गर्भ र राजनीतिक षड्यन्त्रबाट जन्मेको दललाई महाधिवेशनमा निम्ता गर्न नसकिने भन्दै नेकपा एसलाई आमन्त्रण नगर्ने सङ्केत गर्नुभयो ।
एक प्रश्नको जवाफमा एमाले प्रचार विभाग प्रमुख भट्टराईले लोकतन्त्र र राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएको उल्लेख गर्दै महाधिवेशनले यसबारे ठोस धारणा बनाउने र अब हुने निर्वाचनबाट एमाले मुलुककै ठूलो दल बनेर सरकार गठन गर्ने बताउनुभयो । उहाँले राजनीतिक षडयन्त्रमार्फत मुलुकको सबैभन्दा ठूलो दल भएर पनि एमालेलाई सरकारबाट हटाइएको बताउनुभयो । एमालेमा लागेको धक्कालाई महाधिवेशनले शक्तिको रुपमा बदल्दै पार्टीको वर्चस्वलाई फर्काउने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।
एमालेको दशौँ महाधिवेशनले विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारी सहितको २ सय २५ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गर्ने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । एक तिहाइ महिलासहित केन्द्रिय कमिटी समावेशी हुनेछ । यस्तै महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रिय लेखा आयोगको पनि चयन गर्नेछ । महाधिवेशनमा नेतृत्व निर्वाचनको कार्य इलेक्ट्रोनिक भोटिङ मार्फत गरिने एमालेले जनाएको छ । मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको दशौँ महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ । महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।