आइतबार नेपाली शेयर बजारको कारोबार रकमले नयाँ रेकर्ड निर्माण भएको छ । यस दिन बजारको कारोबार करिब २२ अर्ब नजिक पुगेको छ । यस दिन बजारको नेप्से सूचक भने उतारचढाव सहित अन्तिममा घटेको छ । यस दिन नेप्से सूचक २४.८८ अङ्कले घटेर ३१५४.०३ विन्दुमा झरेको छ । आइतबार २२२ वटा कम्पनीहरूका ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयरहरू २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च नयाँ रेकर्ड हो । यस दिन उत्पादन तथा प्रशोधन उपसमूह र माइक्रो फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको सूचक पनि सामान्य बढेको छ भने १० उपसमूहको सूचक नकारात्मक भएको छ । आइतबार नेपाल बैङ्कको मात्रै १ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।