यूईएफए सुपरकपको उपाधि चेल्सीले जितेको छ । इङ्ग्लिस क्लब चेल्सीले स्पेनिस क्लब भिल्लारियललाई पेनाल्टीमा ६–५ ले हराउँदै उपाधि रक्षा गरेको हो । गतराति नर्दन आयरल्याण्डस्थित विन्डसोर पार्कमा भएको खेलमा चेल्सीका हाकिम जियेचले २७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको थियो । तर ७३ औं मिनेटमा जेरार्ड मोरेनोले बराबरी गोल फर्काए । १३ हजार दर्शकबीच सम्पन्न खेलमा निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा थियो । अतिरिक्त गरिएको ३० मिनेटको समयमा पनि दुबै टिमको तर्फबाट कुनै गोल नआए पछि खेल पेनाल्टीमा पुगेको थियो ।
गत सिजन पहिलो रोजाइका गोलरक्षक हुन छाडेका स्पेनी एरिजाबालागा अतिरिक्त समयमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । चेल्सीका प्रशिक्षक थोमस टुचलले गोलरक्षक केपा एरिजाबालागालाई अतिरिक्त समयमा मैदान छिराएका थिए । टुचलको यो निर्णयलाई सही सावित गर्दै उनलेएइसा मान्डी र राउल अल्बिलको प्रहार गोल बचाएका थिए । मे महिनामा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएर युरोपेली च्याम्पियन्स लिग जितेको थियो । त्यही हैसियतमा उसले सुपरकप खेलेको हो । भिल्लारियल भने युरोपा लिग विजेताका रूपमा मैदानमा उत्रेको हो ।