मकवानपुर – रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने उद्देश्यका साथ सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम मकवानपुरसँगै देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीका रुपमा लिए पनि आमजनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन । यो कार्यक्रमको बजेटमा उपलब्धिमूलक काम सञ्चालन गर्न नसक्दा यसको प्रभावकारिता सन्तोषजनक नभएको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पनि यसको उपलब्धी र प्रभावकारीता न्युन रहेको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम करीब २० प्रतिशतमात्र खर्च गरेको छ । संघीय सरकारबाट हेटौँडा उपमहानगरपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि १ करोड ४० लाख प्राप्त भएको मध्ये ४४ लाखमात्र खर्च भएको हेटौँडा उपमहानगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक बिजेन श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले बेरोजगारी न्यून गर्ने उद्धेश्यसहित ल्याएको कार्यक्रम प्रभावकारी हुन नसकेपछि उप महानगरपालिकाका लागि संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत् पठाएको ९६ लाख रुपियाँ खर्च नभई फिर्ता भएको छ । उपमहानगरपालिकाको विकट क्षेत्रका वडामा योजनाका कामहरु व्यवस्थित तवरले संचालन गर्न नसक्दा पालिकाका बेरोजगार नागरिकले १ सय दिन श्रम गरेर पाउने रकमको ठूलो हिस्सा फिर्ता भएको हो । संघीय सरकारले २ सय २९ जनालाई १ सय दिनको रोजगारी प्रदान गर्न हेटौँडा उपमहानगरपालिकालाई उक्त रकम उपलब्ध गराएको थियो । तर, सो कार्यक्रममा धेरै जनालाई सहभागिता गराउन नसक्दा ९६ लाख रकम खर्च नभई फिर्ता भएको हो । यसबाट स्थानीय सरकारले जनताले पाउने सेवा सुविधाबाट बञ्चित गराएको देखिन्छ ।